कसको जीन्दगीमा नहोला पीडा
कुन मुस्कानको पछाडी नहोला उदासीनता |
तर पनि हाँसेकै छन् यहाँ मान्छेहरु,
बाँचेकै छन् यहाँ मुस्कानको पर्दाले आँशु लुकाएर
बाँचेकै छन,
अनेक असमंजस्यताहरुको प्रहारले
आर्त बनाएका पाइला घिसारेर |
अनौठो रहेछ यो दुनिंया,
यहाँ अट्टहासभित्र क्रन्दन लुक्दो रहेछ |
झिलिमिली बोक्राभित्र अँध्यारो गुदी लुक्दो रहेछ |
यो देखिने दुनियाँको पर्दा पछाडी
एउटा अर्कै नाटक लुक्दो रहेछ |
मान्छेको मन सन्तुष्टिको पुजारी रहेछ |
आँखाको सपना र दिमागको विचारभन्दा पर,
आत्मविस्लेशणको अनेकौ धर्काहरु बोकी
संतुस्टिको सिमांकन गर्दो रहेछ मन |
समयसंगै यहाँ आफ्नो भुमिका र परिवेश मात्र होइन,
सन्तुष्टि परिभाषा फेरिदोरहेछ,
खुसीको जग फेरिदोरहेछ
अनि हिजोका खुसि, सन्तुष्टिहरु अलप हुँदा रहेछन |
जारी छ यो खोज सदियौंदेखि,
पहिले खोजे ऋषिमुनी, महाराजाहरुले,
कोहि सन्त भए, कोहि विलाषी
त्यही खोजमा सिध्दार्थ गौतम बुध्द बने,
तर न उनको बुध्द्त्व न ऋषी, महाराजको सिध्दान्तले
खुसीको जग बनाउने इट्टाको परिभाषा दिन सक्यो |
खोज जारी छ आज पनि,
दुनियाँमा कयौं बुध्द बन्न खोज्छन,
कयौं महाराजा
तर त्यो इट्टाको परिभाषा
न पशुपतिको छिंडीमा सुत्ने बाबालाई थाहा छ,
न पैसाको ओच्छानमा निदाउने राजालाई थाहा छ |
हो यहि खोज हो,
जसले कसैलाई विलाषी बनायो,
डाँकु बनायो,
कसैलाई सन्त बनायो |
धेरैलाई स्वार्थी बनायो
र, मलाई अनेकार्थी बनायो |
र पनि अझै जारी छ,
यो खुशीको खोज |
No comments:
Post a Comment