Thursday, September 13, 2018

आफ्नै कथा

जीन्दगी अनौठो रहेछ । यो चेला पनि अनि आँफै गुरु पनि । कति अजीव भएर उभिएको छ मेरो जीन्दगी । पहिले यो सपना सजाउँथ्यो, काल्पनिक सुखभोगको सोचमा लिप्त बनाई पोल्थ्यो मलाई भित्रभित्रै । चैतको सुकेको पातझैं म डड्थें कहिले अनि कहिले शीतल पवनझैँ उड्थेँ, उडाउँथ्यो यो जीन्दगी । कयौँ बसन्त कल्पनामा बिते, रंगीन सपनामा बिते, रातो पूर्वसितको सुनौलो बिहानीको कल्पनामा बिते ।
टाढा कतै मिराजझैँ मेरो सपना, कालो औँशीमय जीवनमा जूनझैँ चम्कने मेरो सपना, मरुभुमीमा कुवाको कल्पनाझैँ मेरो सपना । खाली पानामा कालो मसीसंग मात्र भोगेको मेरो सपना । सपनाहरुको बागमा रातो गुलाफझैँ मुस्कुराईरहेको तिम्रो साथको सपना । अपूर्णताको पूरकझैँ लाग्ने त्यो सपना, जोसँगै म रमाउँथे, म हतासिन्थेँ, सम्हालिन्थेँ । जसका लागि मेरो दिमागमा विचारहरु पौँठाजोरी खेल्थे, मेरो मनसँग झगडा गर्थे, कहिले मनलाई एक्लै पारी जलाउँथे, कहिले डडाउँथे त कहिले उडाउँथे कपासझैँ बादलहरुसँगै । अनि मेरो जीन्दगी अपूर्णतामा पूर्णता खोज्थ्यो, ओठहरु लम्बिरहन्थे, आँखाका नानीहरु बारबार मोबाइलको स्क्रिनमा तिम्रो तस्विर खोजिरहन्थे, पाउँथे कहिले त कहिले बन्द गर्थे पलक र पनि मेरो मन खुसी नै थियो । हरेक बिहानी र निशामा सजाएको त्यो सपनाको दुनिँयामा हराउँदै खुसी नैै थियो मेरो मन ।
समयका पत्रहरु च्यातिँदै गए, जीन्दगीका पानाहरु पल्टिँदै गए । मलाई भगवानमा विश्वास लाग्न थाल्यो, चमत्कारमा विश्वास लाग्न थाल्यो । शिशिरमा खडेरीले सुकेको नाँगो रुखहरुको बिचमा पनि हरियाली भेटिँदो रहेछ, लाग्यो मलाई, चमत्कार हुँदोरहेछ, साँच्चै अनौठो खेल खेल्दोरहेछ समय, भोग्दोरहेछ जीन्दगी ।थाहा छैन मलाई सुखभोग क्षणिक हुन्छ या क्षणिक लाग्छ । सुखको समय साँच्चै छोटो हुँदोरहेछ । घण्टा सुईपनि मिनेट सुईझैँ चल्दोरहेछ । अप्रत्यासित खुसीमा पनि सम्हालिन गाह्रो हुँदोरहेछ, सिकायो जीन्दगीले । मन बादलहरुसँगै लुकामारी खेल्दै थियो, खुट्टाले बिस्तारै भूईँ छोड्दै थियो, म पन्छीझैँ उड्दै थिएँ । साँच्चै, म अज्ञानी, अबोध पन्छीझैँ आफ्नै लयमा उड्दै थिएँ, एक्लै । मेरो संसार सांघुुरिएको थियो, चारैतिरबाट सुकेर तिमीमा सिमित थियो । मेरो कल्पनाको सुखभोगले दिएको अनुभवझैँ ज्यूदैँ थिएँ म । आफैँ खुसि थिएँ म । बकबके मेरो बानी, कति अबाच्य थिएँ म । मेरो मन बाचाल हुन चाहान्थ्यो तर पनि शुन्यतामै रमाईरहेको हुन्थ्यो । हुनत योसँग के नै पो थियो र ज्ञान, के जानेको थियो र, सबै काल्पनिक अनुभव त तिमीसँगको साथसम्म मात्र सिमित थियो नि त । म स्तब्धतामै रमाईरहेथेँ, तिम्रा सानासाना कुरामै रमाईरहेथेँ, तिम्रो मौनतामै रमाईरहेथेँ । कति अबोध थिएँ म । सानो बालकले आमाको साथ खोजेझैँ तिमीलाई खोज्थेँ म, देख्दैमा मात्र पनि जूनको शीतलताले ढमक्कै ढाक्थ्यो मेरो मनलाई । साँच्चै अबोध थिएँ म, लाग्थ्यो माया नै सबथोक हो, यथेष्ट हो । तर उस्तै लाग्ने 'माया', 'प्रेम', 'करुणा', 'दया', '‘ममता' मा फरक छुट्टाईदियो जीन्दगीले । सबैको अर्थ एउटै नहुँदो रहेछ, हो, बुझाईदियो मलाई जीन्दगीले ।
हाम्रो सम्बन्धको धागोहरु खै कुन शब्दले गाँसिएको रै’छ अझै अनुत्तरित छ मेरो जीन्दगी । जेलिएका छन् विचारहरु यहाँनेर । सबै सम्बन्धको धागो बलियो नहुँदो रहेछ । विश्वासको आडमा टिकेको थियो सायद मेरो पिरतिको धागो । एउटा यस्तो बलियो विश्वास कि तिमी मलाई प्रेम गर्छौ, चाहिँदा मलाई मााया गर्छौ, ममता गर्छौ, तर सच्चा दिलबाट हमेसा प्रेम गर्छौ । यस्तो विश्वास कि म तिम्रो भरोसा बन्न सक्छु, तिम्रो विश्वास बन्न सक्छु, कि तिम्रो पनि मभित्रै संसार अटाउनेछ, जनमजनमका कल्पनाहरु मसंगै जोडिनेछन् । मेरो विश्वास थियो कि चर्मचक्षुका दृश्यमा पर्दा लगाई तिमी अन्र्तचक्षुले मलाई हेर्ने कोसिस गर्नेछौ । म सधैँ तिमीमै रहेँ, हराएँ यतिसम्म कि आँफैलाई नियाल्न पनि सकिन । कति अबोध म, बालुवाझैँ विश्वासको महल खडा गरिरहेको रहेछु, बिना जग गाह्रो लगाईरहेको रहेछु, साँच्चै अबुझ म, आँफैलाई बुझ्न समयको एउटा अर्को पत्र च्यात्नुपर्यो, एक बसन्त जीन्दगी ज्यूनुपर्यो   ।
आज एउटा सम्बन्धको आयु सकिन लाग्दा जीन्दगीले कमजोरीहरु सिकाईरहेछ । आँखाले सजाएका सपनाहरुले हँसाईरहेको परिस्थितिबाट एक कदम अगाडी चलेर हकिकतमा त्यही संसारभित्र रंमगिएपछि अमेट्य कमजोरीहरुको श्रृङ्खलाले फेरी यो दुनियाँलाई आँखाभित्र थुन्नै लाग्दा नयनका मुहान फुट्दा रहेछन् ।आज फेरि जीन्दगीले अर्को पाठ सिकायो, अकाल्पनिक सुःख सन्तुष्टीहरुको अविरल भेलले पनि जीन्दगीलई दिगो खुसी दिन सक्दोरहेनछ । कतिपय सपना सपनाकै दुनियाँमा रँगिन हुँदा रहेछन्, बिपनामा मुठ्ठीभित्रको हावाझैँ हुँदा रहेछन्, जति राख्न खोज्यो उति फुस्कने । साँच्चै जीन्दगी अनौठौ रहेछ, भगवानलाई मन्दिरमा भाकेका कुरा पुरा भएर फेरि भाक्नुपर्ने बनाईदियो । मनको रहर पुरा गरेर फेरि मनमै गडाईदियो, कहिल्यै नउखेलिने गरी ।अन्तमा, जीन्दगी एक कठोर यात्रा रहेछ, यहाँ चोटखुसी, दुःखसुःख, आँशुहाँसो, मिलनबिछोड सबै समयको उपहार रहेछ । हामी बस्, सपना देख्न सक्छौ । फेरि म सपना देख्नेछु, अब साथको होइन, तिम्रो खुसीको, त्यो हाँसोको जसले सधैँसधैँ मेरो अधर लम्बाइरहनेछ ।
xxx

No comments:

Post a Comment