त्यो केटीको बारेमा सबैलाई
थाहा छ । भर्खर कुरकुरे बैस चढेको थियो, जवानीको उन्माद अनि अलि
रुपको घमण्ड, जीवन अनौठो रमाइलो लाग्थ्यो उसलाई । S.L.C. मा विशिष्ट श्रेणीमा पर्दा संसारै जितेजस्तो भएको
थियो । +२ को लहर अनि नारायनगढ सहर बिछट्टै गर्भ थियो उसलाई आँफूमाथि । सुन्दर पनि
बिछट्टै पो थिई ऊ । काला ति आँखा, मिलाएका आँखीभौँ, गुलाफी ओठ अनि लाली दलेको
गाला , स्याउभन्दा कम थिएनन्, देख्दै
टोकुँटोकुँ । बिस्तारै समयले उसमा अझ सुन्दरता थपेको थियो, छाती
उठदै थिए समयका गतिसँगै ।
अनि त्यो +२ उमेरमा
केटाहरुको आँखा नलाग्ने त कुरै भएन । समयले पनि उसको लावण्डपनमा आँखा लगाएपछी त्यो
गाँउमा उसकै चर्चा चल्न थाल्यो । धेरै भएको थिएन ऊ म्यानेजमेन्ट पढ्न नारायणगढ
धाउन थालेको । यस्तै ८–९ महिना भएको हुँदो हो, अनि त्यो सोह्रवर्षे कलिलो
उमेरको मगज भड्किनु कुनै अनौठो पनि होइन । भन्छन्, त्यो बेलाको दिमाग कच्चा हो
कुमालेको माटोजस्तै जस्तो बनायो त्यस्तै बन्छ, तर खै यँहा कुमाले कस्तो
परेछ?
त्यो गाँउ शहरीया जीवनबाट
त्यति पर छैन । बच्चाहरु आफ्नो पारिवारीक आर्थिक सम्पन्नताको हिसाबले सुखभोगबाट
टाढा रहनु पर्दैन । धेरै हदसम्म यो ठाँउ सुगम नै छ तर पनि पत्येक १० कक्षासम्म
पढ्दै गरेको विधार्थीको मनमा १२ कि.मी. परको नारायणगढ सहरको +२ कलेज नै बसेको
हुन्छ । त्यो शहरीया चलनको प्रभाव वा कसैले नचिन्ने ठाँउमा जान मन लागेको यसबारे
खोज कसैले गरेको छैन तर प्रतिबर्ष आधाजस्तो विधार्थीको हुल उतैतिर हानिन्छन ।
उसलाई पनि कुनै नौलो तमासा देखाउनुपरेन शहरीया हावा खानलाई तर के थाहा उसलाइ
शहरीया हावामा कति प्रदुषण हुन्छ, के थाहा उसलाई झिलीमीली बोक्राभित्र कस्ता
अँध्याराहरु लुकेका हुन्छन् । अनभिज्ञताको माहासागरमा डुबुल्की मार्दै अँध्यारा
बाटाहरु पछ्याउँदै जाँदा शीशासरी फुट्दो रहेछ जीवन, के थाहा उसलाई यस्ता
दर्शनका कुराहरु । के थाहा उसलाई गुदी जब बोक्रोमा रमाउने रहर थियो । कलेज जीवनको
प्रारम्भसंगै उसलाई लाग्यो अब म जीवनको हरेक निर्णय गर्नसक्ने उमेरमा छु । अक्सर
सबैजसो ऊ पनि झुक्कीई ‘म जिवनको हरेक निर्णय लिन
सक्ने उमेरमा छु’ । ऊ ढिस्कोमा चढेर रमाई, तर के जीवन सानो ढिस्को
होला र ? बुझाइदिने कोही भएन उसलाई न
उसले कहिल्यै बुझ्न नै चाही ।
………………………………………………………………………..
एक कान दुई कान मैदान भन्थे
यहाँ त एक कान दश कान अनि झटपट मैदान भएछ । यो नेपाली समाज कसैको नराम्रो कुरा पाए
शिशा चर्कदाभन्दा तेज गतिमा चर्काइदिन्छ कानहरु । छिटपिट छिटपिट सुरु भएको कुरा एक
दुई दिनमै चोकचोकका गफ बनिसकेछन् । फलानीले त बान्ता गरी रे, घरघरमा
आइमाईहरुको गफ जम्न थालेछ फलानी त दुइज्युकी रैछ नि । अहो, कसले
सिकाइेदओस् पीडीतको पीडा बुझिदिन , कसले
सिकाइदेओस् हाम्रो समाजमा हतोत्साहीको आत्मबल बढाइदिन ।
झरी परिरहेको थियो, ऊ भित्र
सुँक्कसुँक्क रोइरहेकी थिई, ति काला आँखा अब राता देखिन्थे, फुलेका
देखिन्थे त्यो कठ्याग्रिँदो माघको जाडोमा यसरी आकाश रोएको कमै थाहा पाइन्थ्यो ।
शिशिरले उजाड बनाएको थियो प्रकृति अनि नग्न थिए पतझड रुखहरु । यो बेमौसमी अनायसै
परिरहेको पानीले जति कोसिस गरेपनि त्यो नग्न रुखको नग्नता ढाक्न सक्दो रहेनछ न
अनवरत बगिरहने आँशुले मुटुमा लागेका दागहरु । उसको कोठा यति नमिलेको हुदैनथ्यो ।
यत्रतत्र छरिएका किताबहरु लथालिङ्ग नमिलाइएका बिस्तारा अनि लथालिङ्ग छरिएका
कपडाहरुले कुन्नि के प्रतिबिम्बीत गर्न खोजिरहेछ । आफ्नो दुई गोडा खुम्च्याएर
त्यसलाई अँगालो हाली त्यहिँ टाउको टेकाएर बसेकी छे ऊ बिस्तारै राता आँखाहरु माथि
उठाउछे । उसका गाला आँशुले भिजेका छन् । नाक अनवरत बग्न खोज्दैछ । झ्यालबाट
बाहिरको दृश्यमा कुनै परिवर्तन छैन, उस्तै कठ्याग्रींएका रुख, फूलहरु, उस्तै
रोइरहेको आकाश सबै उस्तै ।
………………………………………………………………………..
ऊ निकै खुसी थिई । चमकदार
उसको मुहार, लाग्थ्यो आँखा बोल्न खोज्दैछन् । त्यो सेतो धर्के सर्ट अनि कालो
धर्के पाइन्ट त्यसमा कालै टाई बाँधेर कालो जुत्ता लगाएपछी उसको मुहार कम्ता बलेको
देखिन्थ्यो र? लरक्क कपाल कोरेर अलिअलि मेक अप गरेपछी गुलाफी ब्याग भिरेर उ
हतारहतार चिच्याउदै थिई । मम्मी मलाइ १०० रुपिँया दिनु त कलेज जान हतार भइसक्यो ।
ऊ झ्यालबाट बाहिर नियाली फूलेको रातो गुलाफ रहेछ बाहिर बगैँचामा । शरदको आगमन हुन
लागेको समय मौसम पनि नशालु उन्मादमा थियो । भलै बसन्त थिएन तर पनि रातो गुलाफको
कुनै कमी थिएन त्यहाँ । टपक्क टिपी झोलामा हाली अनि पैसा लिएर निस्की ऊ । कलेज बस
कुर्नु थिएन उसलाई, न त झोलामा किताबको मतलब थियो उसलाई । त्यो झोलामा
त उसले प्रेमको प्रतिक राखेकी थिई उसले निकै सम्हलेर लादै थिई ऊ । त्यो लोकल बसमा
उसले सोचेजति सजिलो पनि थिएन । नारायणगढमा ओर्लेपछि ऊ सरासर पोखरा बसपार्कतिर लागी, अनि
त्यहाँ बाईक लिएर उपस्थित भईसकेको थियो उसको मनको राजकुमार, अब त के
उसलाई न बसको चिन्ता, न घरपरिवारको । थिए नै को र यहाँ, यो शहरमा
उसलाई चिन्ने । अनि बिस्तारै उसको बाईकले गति लिँदै गयो र आर्मीव्यारेक पन्छीको
नारायणी नदिकिनारमा रोकियो । ऊ उत्रिई, अनि अँगालोमा बेरिँदै नदिकिनारमा
रोकिई । उसको राजकुमार पनि मख्ख थियो त्यो लामो केशहरु आफ्नो औँलाले ठडाउँदै
हिँडिरहेथ्यो, बाईकबाट उत्रनुअघि ऐना नहेरेको पनि होईन उसले । त्यो हरियो
कार्पेटझैँ झारहरुमा टेक्दै अलिकति ढिस्को उक्लेर नदिकिनारमा पुगे उनीहरु । अगाडी
अनवरत बगीरहेको नदि थियो । बसन्तमा पलाएका पालुवाहरु बर्खाले सिंचित गरेर गाढा
हरियो बनाएका रुखहरु नदिपारि गैँडाकोटको डाडाँमा उभिरहेकै थिए । मौलाकालीकाको
मन्दिर देखिने त्यो ठाँउको उत्तरपट्टि पनि जंगल थियो । अनि तल हेर्दा टाढा
नारायणीको विशालकायी पुल देखिन्थ्यो । उनीहरु अँगालिनमै व्यस्त थिए, मीठामीठा
गफका श्रृङ्खलाहरु पनि चलिरहेकै थिए । उसले उसको राजकुमारलाई सोधी, तिमी मलाई कति माया गर्छौ?
अथाह, त्यो
समुन्द्रको पानीभन्दा बढी, यो आकाशको लम्बाइभन्दा बढी, अनि यो
ताराहरुको सङ्ख्याभन्दा बढी ।
फिल्मी डाइलगको बर्षात
गराइदियो राजकुमारले अनि ऊ मग्न भएर उसको आँखामा हेरेर रमाउँदै थिई । शान्त थिए
दुवै, मात्र बगेको नारायणी र उत्तरपट्टि जँगलमा कराइरहेका चराका चिरबिर
मात्र सुनिन्थे । अनि उसको मनको राजकुमारले उसको टाउकोमा समाई बिस्तारै आँखा बन्द
गरि नजिक ल्यायो । ऊ दंग थिई, अचल थिई । वाचाल उसको ओठहरु स्वर्गीय स्पर्शहरुमा
रमाइरहेका थिए । आफ्नो हातहरु बढाएर उसले राजकुमारको काधमा राखिदिई । ऊ छिटोछिटो
ओठ चलाउँदै थिई । उसलाई रोकिन मन लागिरहेको थियो तर ऊ सकिरहेकी थिइन । उसका हातहरु
पनि अस्थिर थिए । चल्दाचल्दै पाइन्टको खल्तीमा पुगेछन जँहाबाट चुरोटको बट्टा निस्कदै
थियो, उसको राजकुमारले भने धेरै ठाँउमा हातहरु पुर्याइसकेको थियो । चुरोटको
बट्टा हातमा लिर्इृ ऊ केटोलाइ छातीमा धकेलेर ति कोमल ओठका स्पर्शबाट छुटाई । कान
छेडेर टप लगाउने, धनको उमँगमा मात्तिने त्यो केटोको लागि सबै नशा सामान्य थियो । उसँग
चुरोटको बट्टा भेटिनु स्वयम् केटीको लागि पनि कुनै अनौठो कुरो थिएन तर ऊ अरु
त्यहाँ बस्न चाहान्नथी । हिजो रातीको योजनाअनुरुप उनीहरु अब जलमाँ हल जाने भए, खै कुन
खानको हिन्दी मुभी हेर्न । सम्बन्धको यो एकहप्ते सफरभित्रै तय भएको चुम्बन अब
शिलशीलामा परिणत हुँदैछ जसले त्यहि दिन हललाई पनि शिकार बनायो ।
………………………………………………………………………..
उसको आफ्नै जीवन उसकै
आँखाअगाडी चलचित्र बनि चलिरहेको छ । बन्द पलकको भित्ताहरु अझै पर्दाझैँ अतीतका
तिता पाना पल्टाइरहेको छन् । जिङ्ग्रिङ्ग कपाल, नमिलेको कपडा, बढेको
काला नङ, राता आँखा आफैलाइ आँफू कुरुप लाग्दैछ । टेबलबाट पल्टेको ऐना उठाँउछे
आफैलाइ हेर्दै छे ऊ ।
आँफैमाथि दया जाग्छ उसलाई ।
उन्मादले उचालिदिँदाको गल्तीको यो सजाय उसलाई अति कठोर लागिरहेछ । आँफैले
स्विकार्न सक्दिन आँफुलाई । कयौँ दिनदेखि थुनिएको ढोकाभित्रको त्यो कोठाबाट उम्कने
उपाय ऊ देख्दिन । उसलाई यो घनघोर एकान्तपन आफ्नो तीतो थर्थाथ हो भन्ने स्वीकार्न
गाहो परिरहेको छ । ऊ धिक्र्काछे आफूँलाई । उसको आँखाअगाडी बीसौँ बर्थडेसंगै आएको
कार्डमा जान्छ । अगाडीपट्टी नै ठूलो अक्षरमा लेखिएको शब्दमा घोरीन्छे ऊ अनि
सम्झिन्छे ऊ राजकुमारको बर्थडे ।
………………………………………………………………………..
हतारहतार ऊ लोकल बसबाट
पुल्चोकमा ओर्लेपछी राजकुमारको बाइकतिर मोडीन्छे ।
कति ढिलो गरेको के? राखिराखेको हेलमेट उठाउदै राजकुमार भन्छ ।
म सँग पनि बाइक भाको भए
छिट्टै आउँथे होला । नजिक पुगेपछी हात बढाउदै भन्छे ।
कोमल हातको निर्मल स्पर्श
आफ्ना मुलायम प्यासी अधरहरुतिर लम्बाउँदै बोल्छ राजकुमार । अनि बाइक चढी उनीहरु
शान्तीकुञ्ज पुग्छन् । एकान्त त्यो जँगल निर्जन थियो । सानो झोलुङ्गे पुल कटेर
पुगिने यो जँगल आएपछी सायद एकान्तपनको फाइदा उठाउँदै ऊ राजकुमारको हात समाउँछे अनि
एक हातले झोलाबाट निकालीराखेको गिफ्ट दिँदै फेरी मायालु भाकामा गुगुनाउन थाल्छे ।
अनि राजकुमार आफ्नी राजकुमारीलाई अँगालोमा बेर्दै उस्तै भाकाहरु गुनगुनाउँछ ।
अलिअलि चराका चिरविरमय आवाज मन्द सँगीतझैँ आर्इृरहेको त्यो हरीयाली रुखका
दिवारभित्र उनिहरु अधरयानमा मग्न हुन्छन् । अनि राजकुमारका अनियन्त्रित हातले उसको
राजकुमारीको कोमल अँगहरु स्पर्श गर्न सुरु गर्छ । अब ऊ पनि उत्तेजनाले आँफूलाई
रोक्न सक्ने स्थिति बाट पार भइसकेकी छे । उसलाई भाग्यको अविरल बर्षातमा रुझ्न मन
लागेको छ । नग्न सुन्दरतामा रमाउन मन लागिरहेको छ । एकैछिनमा रुखमा बसेका चराहरु
चिरबिर चिरबिर आवाज निकाल्दै भुर्र उड्छन् । त्यो हरीयो दुबोमय गुन्द्रीमा रातो
दाग लाग्यो । त्यो दागनै उसको जीवनको अमेट्य दाग बनेर उसलाई पोलिरहनेछ, पोलिरहेछ
।
………………………………………………………………………..
ए हठात् होसमा आउँछे ।
सुकेको आँखामा फेरी बर्षा सुरु हुन्छ । थचक्क भुइँमा बस्छे ऊ । चिच्याएर रुन मन
लाग्छ उसलाई । अचानक रोकीन्छे ऊ, केही सम्झेझैं गर्छे । यताउता राता आँखाका काला
नानी डुलाउँछे । लथालिङ्ग खाटमाथी हेर्छे ऊ अनि दराजतिर बढ्छे त्यो हरियो टिनको
दराज बेस्सरी खोल्छे ऊ, मानौँ त्यो ढोकासंग उसको रीस छ । अनि त्यहाँ
कपडाको चाङ पल्टाउछे ऊ । सल निकाल्छे । कुर्सी खाटमा राखेर सिलीङको बिममा सल
बाँध्न थाल्छे ।
No comments:
Post a Comment