ए साथी, भनिदेउ न के मलाई पर्खाइमा कति
पीडा छ?
प्रत्येक पल सताउन
आइरहेने यादहरु समेटेर पोको पारि उपहार दिउँला म,
तिमीले बोक्न सक्ने गरी, लैजान सक्ने गरी,
साथी,
भनिदेउ न पर्खाइमा कति
पीडा छ?
बिहानीको झिसमिसेमैं आँखा
खोल्दा कालो दृश्य,
जब रंगिन हुन्छ तिम्रो
तस्विरहरुले,
त्यो रङको पोको बनाएर
उपहार दिउँला,
तिम्रो जीवनमा रङ भर्न
पुग्ने गरी,
तर साथी, भनिदेउ न पर्खाइमा कति पीडा छ?
जब म खान बस्छु, थालमा भात पस्कंदा सम्झन्छु,
तिमीले खुवाएको, अनि अनायासै बग्न खोज्छन आँखा,
त्यो रोक्न पनि साहस
चाहिन्छ साथी,
विशाल हिम्मत चाहिन्छ,
हो त्यही हिम्मत दिउँला
साथी,
तिमीलाई मेरो उपहार,
तर साथी, भनिदेउ न पर्खाइमा कति पीडा छ?
जब थुनिन्छु म चार
दिवारभित्र,
भुल्न खोज्छु यो दुनियाँ, तिमी, अनि
आँफूलाई,
बन्द हुन्छन् स्मृतिपुस्तक, आँखाहरु
थाहा छ साथी, म शुन्य हुन्छु, पुरै शुन्य |
र पनि त्यो शुन्यतामा
लुकेर बस्छौ तिमी,
अतितले गिज्याउंछ,
पलकहरु पर्दा बनिदिन्छन, र तिम्रा यादहरु प्रोजेक्टर,
तब हाँस्छु म भित्रभित्रै,
मुस्कुराउछु एक्लै,
मेरा ति मन्द मुस्कानहरु
दिउँला तिमीलाई उपहार,
तर मेरो साथी, भनिदेउ न पर्खाइको पीडा कति हुन्छ?
न गुप्तबासमा रामको पीडा
थाहा छ,
न मुना हराएकी मदनको,
न प्रसवपीडा थाहा छ मलाई,
न मृत्युको,
म त नादान मान्छे,
जीन्दगीका पानाहरुमा
सुनौलो कहानी लेख्न खोज्दैछु,
अमर अटुट सुमधुर
सम्बन्धको रंगीन सपना देख्न खोज्दैछु,
साथी, चल्न खोज्दा भाँचिएको कलमको पीडा
थाहा छैन मलाई,
मेरो साथी,
तिम्रो सपना भर्न मेरा
सपनाका शब्दहरु दिउँला बरु,
सजाएको सुनौलो काहानी
दिउँला उपहार तिमीलाई,
तर साथी, भनिदेउ न पर्खाइको पीडा कति हुन्छ?
भनिदेउ न साथी, पर्खाइमा कति पीडा छ?
Dherai ramro xa
ReplyDeleteThank You..
Delete