Thursday, December 3, 2015

मेरो गाउँको प्रतिक्षालय


कति सुनसान, कति निर्जन
यो प्रतिक्षालय,
पुसको जाडोमा कठ्याङ्ग्रियको
चिसो शीतको सिरेठोमा भिजेको,
अहो! कति उजाड,
कति उदास|

यो प्रतिक्षालय,
कति रङ्मगाउदो भेला आयोजना गर्थ्यो,
कति चुटकिलाको हंसोसंगै गुन्गुनाउंथ्यो,
कति आगोका लप्काहरुले पोलिन्थ्यो यो सिरेठोमा,
रापहरुले सेकिन्थ्यो यो हरेक साँझ,
वाल्लाघरको बिस्नु, पल्लाघरको सापकोटा,
कुलापारिको शिबे, तल्लाघरे नविन,
लाउरेको छोरो के. सी., सबैलाई समेट्थ्यो यो,
कति दोहोरी साँझ सम्पन्न गर्थ्यो|

हिजो,
म घर फर्कदा,
झर्दा गाडीबाट,
कयौं साथीका हात बोकी बस्थ्यो यो,
स्वागतमय माहोल सजाई बस्थ्यो यो,
आफ्नै रंगमा टिलिक्क टल्कियी बस्थ्यो यो,
उदंगिएछ आज,
फुसफुस धुलोझैं उडेर हराएछ यसको रौनक
सिरेठोले उडाएछ यसको रङ,
आजकल त
वियोगान्त भाकाका बुढ्यौली स्वरहरूमा डुब्दोरहेछ,
सुन्दोरहेछ,
बिदेसिएका धनी छोराका कथा,
पराई भूमिमा बगेका नेपाली पसिनाका कथा,
रुँदोरहेछ भित्रभित्रै
र त,
आज म झर्दा गाडीबाट,
मेरो अघि नाङ्गो रुखझैं उजाड थियो यो,
एक्लो थियो यो,
मेरो प्रतिबिम्बझैं  मेरै अघि उभिरहेथ्यो,
प्रतिक्षारत यो,
मेरो गाउँको प्रतिक्षालय|

No comments:

Post a Comment