खुला आकाशको छानामुनि क्याफेको दायराभित्र एक्लो टेबलमा शिथिल बिचारमा बिचारोन्मुख मेरो मस्तिष्क उत्तरहरु खोज्दैछ अनि सुन्दर दुई तलाउहरु पलकभित्रको दुनियाँमा स्मृतिसँगै रमाउँदै छन् । मेरो मुटु पनि काम गर्न छाडेझैँ अनायासै उदास छ । झुण्डबाट छुट्टिएको मृगझैँ एक्लै, एकान्तमा बस् नयनलाई अगाडी खुला राखिरहेको छु ।अर्थपूर्ण सागरमा अर्थहीन छन् यी दृष्यहरु, भावबिहिन छन् यी, मनोरञ्जनबिहिन । नैरस्यताबिहिन छन् यी, न हर्सोल्लास छ, न उदासता नै बस् नयनहरु यी दृष्यहरु सुचित गराइरहेका छन् दिमागलाई अनि दिमाग रमाइरहेको छ ती अतितहरुका साथमा, यादहरुको माझमा र त, निरर्थक नजरका तीरहरु फ्याँकिरहेका छन् मेरा लाचार नयनहरु ।
कुनै दिन तिम्रै यादमा तड्पिन्थ्यो मेरो मन, तृष्णा जाग्थ्यो मेरो आँखामा, पाटिन्थे यी तिम्रो बाटो हेर्दा । भोको बाघझैँ भड्किन्थेँ नदेख्दा तिमीलाई तर देख्थेँ जब, पञ्जामा सिकार जकडेझैँ आनन्दित हुन्थेँ । भित्रभित्रै लाग्थ्यो बढेको मुटुको चाल रोकिएको छ, प्रचण्ड गर्मीमा चिसो हावा मुटु छुने गरी सरर्र बगेको छ । अनि सुरु हुन्छ नेत्रभोजन । तिम्रा ती गाजलु लोचनहरु चम्किरहने ताराझैँ लाग्थ्यो, बोल्न खोजेझैँ लाग्थ्यो, मेरा यी नयनसँग इसारामै बात गर्न खोजेझैँ लाग्थ्यो । कुरा गर्न खोज्थेँ तन्काउथेँ आँखाहरु अनि लजाएझैँ हाँस्थेँ आँफैसँग । अटल पहाडझैँ उभिएका सुन्दर नाकले प्रतिप्रश्न गरेझैँ लाग्थ्यो अनि ओठले त्यसको शब्दपात । म सुन्थेँ ति सुमधुर आवाजहरु, न शब्दसँग मतलब थियो, न भावसँग, बस् मीठा ती स्वरहरुसँगै रम्थेँ म, मुस्कुराइरहन्थेँ मात्र मुस्कुराइरहन्थेँ । बिस्तारै बन्द हुन्थे मेरा पलकहरु कल्पिन्थेँ म यावत् कुराहरु, लीन हुन्थेँ त्यसैमा तर जब पाउँथेँ बेलाबेलामा आउने पवनका झोकाहरुले उडाएर ल्याएको तिम्रो रेशमी केशको निर्मल स्पर्श, तब जाग्थेँ म त्यस काल्पनिक दुनियाँबाट । अनि चुम्न मन लाग्थ्यो तिम्रा कोमल हातहरु, डुब्न मन लाग्थ्यो तिम्रो अँगालो भित्रै, अड्किन मन लाग्थ्यो तिम्रो केशभित्रै । एकोहोरो अटल हेरिरहनेचाहाना हुन्थ्यो त्यो जूनसरीको अनुहार, मिलेको छाती, त्यो छिनेको कम्मर । म हराउँथेँ यत्तिकैमा भेट्दिनथेँ आँफैले आँफैलाई ।
आजकल शयनकक्षमा तकियामाथि टाउको राखेर म सोचिरहेको हुन्छु । घन्टौँ सोँच्छु, कल्पिन्छु तिमीलाई । मरो गहभरी आँशु भरिन्छ । चिम्लन्छु आँखा बगाउँछु आँशु अनि सँगै बगाउन खोज्छु तिम्रा यादहरु, तर कहाँ बग्थे र यी । बर्बराउँछु, गाली गर्छु दैवलाई मनमनै । कहाँ सुन्छ र ऊ, कहाँ देख्छौ र तिमी त्यो बादलपारीको देशबाट । अरु बग्छन् पीडाहरु थोपाथोपा बनि असिमित पीडाहरुको बिचबाट । खै कतिबेला हराउँदोरहेछु यो दुनियाँबाट र पुग्दोरहेछु निदरीको दुनियाँमा जहाँ तिमी हुन्छौ अनि म, मात्र म । हामी बादलसँगै उड्छौँ, नाच्छौँ, गाउँछौँ । तिनै नयनसँग कुरा हुन्छ, तिनै आवाजहरु सुन्छु म, अंकमाल गर्छु तिमीलाई, रमाउँछौँ दुवैजना । बिस्तारै घामका किरणहरु पृथ्वीलाई चुम्न आईपुग्छन् । ब्युँझन्छु म, तिमी हराईसकेकी हुन्छौ । आफ्ना पाइला अघि बढाउँछु म, दराज खोल्छु । अनि हुन्छौ तिमी मेरो अगाडी । मुस्कुराउँछन् ओठहरु, हेर्छु उही गाजलु लोचनहरु, रेशमी बालहरु, जुनसरीको मुहार, त्यो छाती त्योे छिनेको कम्मर । तिमी उही टिसर्टमा उही पाइन्टमा उस्तै उभिरहेकी हुन्छौ, मेरो ओठ लम्बिहेकै हुन्छ, म टोलाईरहेकै हुन्छु । मेरो खुट्टा गल्छ, थचक्क खाटमा बस्छु तर तिमी अझै एक डेग नचलिकन त्यो कागजी फ्रेममा मेरो औँलाहरुबिच कैद हुन्छौ । कहिले छातीमा टाँस्छु त कहिले चुम्छु त्यसलाई अनि तिमी अँगालोमा भएको महसुस गर्दै आँफैभित्र रमाउँछु ।
तिमी मेरो कहानी बनेर मेरो प्यार बनेर मेरो जीन्दगीको पानामा रँगीएकी छौ, मेरो जीवनरुपी क्यानभासमा पोतिएकी छौ । जीन्दगीको क्यानभनसमा ब्रस चलाउने नियति यदि म नै हुन्थेँ भने तिम्रो मात्र आकृतिले सारा क्यानभास भरिदिन्थेँ तर नियतिको ठक्करले घायल बनाइदिएपछि नयाँ बाटोमा घाइते पाइला चलाउने अनवरत प्रयास गर्न बाध्य छु, क्यानभासमा नयाँ कुचीको खोजी गरिरहेको छु । इादका तरबारहरु चलिरहेका छन् दिलदिमागमा । यी धरबाट जोगिँदै खाली क्यानभासतिर हेर्दै सोचिरहेछु, पुरानै अपुरो आकृति ।
.......................................................
यत्तिकैमा हुलाकी बनेर कानले खबर ल्यायो, “भाइ तिम्रो मोःमो”, अनि म झस्किएँ । यताउता हेरेँ अझै खाली थियो क्याफे, म डल्ला टिप्न थालेँ ।
No comments:
Post a Comment